काठमाडौं । सरकारले कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड जारी गरेको छ । अब स्वास्थ्य मापदण्ड पालना नगरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन । मन्त्रिपरिषद्को सोमबारको बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने गरी नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको हो ।
सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ । त्यस्तै सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था पनि गर्नुपर्ने छ । साथै चालक र सहचालकले मास्कका साथै भाइजर समेत लगाउनु पर्नेछ । त्यस्तै सार्वजनिक यातायातलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने मापदण्ड पनि सरकारले बनाएको छ ।
सार्वजनिक यातायातमा चढ्ने यात्रु मास्क नलगाइ आएमा सवारी साधनमा नै बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क उपलब्ध गराउनु पर्ने छ । त्यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । लामो दूरीका यातायात सुरु गन्तब्यदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
त्यस्तै यात्रुको विवरण सम्बन्धित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ । त्यस्तै आन्तरिक हवाई सेवामा विमानका चालक र यात्रुलाई अनिवार्य मास्क, जहाज र झोलालाई स्यानिटाइज गर्नुपर्ने उल्लेख छ ।






