रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन् ।
हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट गर्ने प्रयास गरेका गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रहेका राम नारायण साहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहिबार पक्राउ गरेको हो ।
नगरपालिका कार्यालयमा पोषण सम्बन्धी शाखामा कार्यरत सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको फेला परेको हो । पोषण सम्बन्धी एउटा गोश्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेको हो ।
पाँच लाख रुपैयाँको गौश्वारा भौचरमा सहनीले कार्यालय प्रमुख झाको नक्कली हस्ताक्षर गरी फछ्र्यौट गरेको फेला परेपछि कार्यालय प्रमुख झाले प्रहरीलाई खबर गरेका थिए । सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि, पनि सहनीले किर्ते गरेको हुन सक्ने र किर्तेमा अन्य कर्मचारीको पनि संलग्नता हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सहनीलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






