वीरगञ्ज । गैर कानुनी रूपमा सम्पति कमाएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशी भुषणकुमार यादवविरुद्ध ४ करोडभन्दा बढी बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध गैर कानुनी रूपमा सम्पति कमाएको आरोपमा ४ करोड ४७ लाख ३४ हजार २१६ रुपैयाँ २६ पैसा बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा उनले आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
उजुरी समबन्धि छानबिन गर्दा उनले सरकारी सेवामा रहँदा बैध आय रु २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ ८६ पैसा कमाइ गरेको देखिएको अख्तियारले जनाएको छ ।
तर यादवको कुल सम्पति भने ७ करोड २४ लाख ५६ हजार २५३ रुपैयाँ १२ पैसा बराबरको लगानी देखिएकोले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गराइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।






