काठमाडौं । तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजुभाइ पूजा गर्न, सयपत्री मखमली फूल नै प्रिय मानिन्छन् । आज काग तिहारमा कागलाई खाना खुवाउन, भोलि कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ । लक्ष्मीपूजामा अघिल्लै दिनदेखि घर, सिकुवा, आँगन, बारदली लगायत सबैतिर फूलले सिँगारेर चिटिक्क बनाइन्छ ।

त्यस्तै, तिहारलाई झिलीमिली बत्तीहरूसहित उज्योलोको पर्वका रूपमा पनि लिइन्छ । तिहारमा झिनियाँ, सेलरोटी, मिठाइ जस्ता मिठा मिठा परिकारहरू खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न प्रकारका फूलको माला र सप्तरङ्गी टीका लगाएर मनाउने चलन छ ।

तिहारको अन्तिम दिन भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइ मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छे अनुसार दक्षिणा, उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मिठा मिठा परिकारहरू खुवाउने गर्दछन् ।

यसरी नेपाली समाजमा तिहार पर्वलाई दिदीबहिनी र दाजुभाइको बीचमा आत्मीयता साटासाटसँगै हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसैगरी सबैतिर फूलहरु रोपिने हुँदा दृश्यहरु मनमोहक लाग्छ । भक्तपुरमा रहेको पाठ्यक्रम विकास केन्द्र एक शिक्षक सेवा आयोगमा पुग्दा समेत मनै लोभ्याउने दुश्य देख्न सकिन्छ ।







