काठमाडौं । सरकारले फेक आइडी, ग्रुप खोल्न बन्देज लगाएको छ । फेक आइडी खोलेर न्यूज शेयर गर्ने, कमेन्ट गर्ने गतिविधि नियन्त्रण गर्ने भन्दै सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ जारी गरेको हो ।
गत कात्तिक २३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० जारी गरेको हो । १५ बुँदे उक्त निर्देशिकामा सामाजिक सञ्जालमा ‘फेक आइडी’ खोलेर कन्टेन्ट क्रियट गर्न, सेयर तथा कमेन्ट समेत गर्न नपाइने व्यवस्था गरिएको छ ।
यस्तै व्यक्ति, समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्थामा प्रभाव पर्ने गरी समेत विषय वस्तु बनाउन नहुने व्यवस्था गरिएको छ । निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ ।
सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै निर्देशिकामा अबको तीन महिना भित्र नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्न सक्ने भएको छ ।
यस्तै १ लाख भन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा नेपालमा सम्पर्क विन्दु राख्नु पर्ने र त्यसका लागि आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्नेछ ।




