सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सल्यान शारदा नगरपालिका ६ भट्टाचौरमा दाङ तुलसीपुरबाट सल्यान दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा सल्यान कुमाख गाउँपालिका ७ जिमालीका २५ वर्षीय सहचालक लालबहादुर शाही, बागचौर नगरपालिका २ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीया झुपा केसी, दाङ बबई गाउँपालिका ७ का ३८ वर्षीय कुशल डाँगी र बाँके राप्ती सोनारी गाउँपालिका ३ की ५० वर्षीया डिला खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइतेमध्ये सहचालक शाहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए । घाइतेहरुको श्रीनगरस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको उनको भनाई छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




