काठमाडौं । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका १ सय २० अस्पताललाई तोकेको छ । तोकिएका अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका १ सय २० अस्पताल तोकेको हो ।
निर्देशिका अनुसार गरिब, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख छ । कोशीका १५, मधेसका ९, बाग्मतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका ३ अस्पताल तोकिएका छन् ।
निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलियत दिइने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि ४ लाख र औषधिका लागि १ लाख, मुटु सम्बन्धी अन्य रोगका लागि १ लाख दिने उल्लेख छ ।




