रौतहट । गृह मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा इलाका प्रशासन कार्यालय, रौतहटको सेवा प्रभावित बनेको छ । कार्यालय प्रमुख नहुँदा एक घण्टामै हुने कामका लागि सेवाग्राहीले तीन दिनसम्म कुर्नु पर्ने बाध्यता रहेको छ ।
इलाका प्रशासनको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा राम स्वार्थ यादवलाई अधिकृतको जिम्मेवारी दिएको समयावधी सकिएपछि नयाँ व्यवस्था नहुँदा कार्यालय प्रमुखविहीन बनेको हो ।
मन्त्रालयले यादवलाई दिएको जिम्मेवारी गत कार्तिक १५ मा सकिएको हो । विगत ४ वर्षदेखि कार्यरत यादवलाई यसअघि ४ पटकसम्म कामको जिम्मेवारी दिइएको थियो ।
एक महिनासम्म मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित बनेको छ ।
इलाका प्रशासनबाट दिने सेवा रोकिएपछि जिल्लाका गरूडा नगरपालिका, लगायतका सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीले रौतहटमा रहेको जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता छ । योसँगै इलाका प्रशासन कार्यालयका कर्मचारीको दुई महिनाको तलबसमेत रोकिएको छ ।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय स्थापनाकालदेखि नै निमित्तको भरमा चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भएपनि मन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन ।




