रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा कर्मचारीको तलब समेत रोकिएको छ । नगरसभाको मिति तोक्न बुधबार बस्ने भनिएको कार्यपालिकाको बैठकमा गणपूरक संख्या नपुगेपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।
नगरसभा हुन नसक्दा नगरपालिकाका हरेक काम प्रभावित भएको छ । कांग्रेस समर्थित १५ जना कार्यपालिका सदस्य अनुपस्थित भएको जनाइएको छ । फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित मेयर, उपमेयर, ७ जना वडाध्यक्ष र ८ जना मनोनीत गरी १७ जना र अन्य दलका ४ जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् ।
नगरसभा नभएका कारण फतुवा विजयपुरको शिक्षक कर्मचारीसहित ३५० भन्दा बढीले यस आर्थिक वर्षमा तलब पनि पाएका छैनन् । त्यस्तै, पालिकाको आर्थिक कारोबार ठप्प हुँदा विकास निर्माणको काम प्रभावित भएको छ ।
लालबकैया नदीको टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादवलाई दोषी ठहर गर्दै विशेष अदालतले ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिमाना गरेपछि उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।
कार्यवाहक मेयर अम्बेया खातुन कांग्रेस पार्टीको भएपनि कांग्रेसका कुनै प्रतिनिधिसँग सल्लाह नगरी एकोहोरो बैठक राखेका कारण बहिष्कार गरेको उनीहरुको आरोप छ ।




