बारा । बाराको विश्रामपुर गाउँपालिकाबाट यस वर्ष गहुँको बीउ वितरणमा अनियमितता भएको छ । गाउँपालिकाले वितरण गरेको गहुँको बीउमा सर्वसाधारण किसानभन्दा आसेपासे नेता, कार्यकर्तालाई बीउ वितरण गरिएको गाउँलेहरूले आरोप लगाएका छन् ।
गत मंगलबार गाउँपालिकाले पाँच वटा वडामा १२० जनाको दरले करिब ६ सय जनालाई ११८ क्विन्टल (११ हजार ८ सय किलो) गहुँको बीउ वितरण गरेको थियो । गाउँपालिकाले प्रतिकिलो ८० रुपैयाँको दरमा वितरण गरेको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।
रु ८० को खरीदमा रु ४० गाउँपालिकाले अनुदान दिएको थियो भने रु ४० किसानले तिरेका थिए । वडा नं. १, २, ४, ५ मा विवाद नभएको तर वडा नं. ३ विश्रामपुर गाउँपालिका कार्यालयस्थलमा बीउ वितरणमा होहल्ला समेत भएको गाउँलेहरूले बताएका छन् ।
आसेपासेलाई बढी ग्राह्यता दिन खोज्दा बीउ वितरणमा विवाद हुँदा झैं-झगडा भएको थियो । यस विषयमा गाउँपालिकाका कर्मचारीले माग अत्यधिक र बीउ सीमित भएकोले विवाद सिर्जना भएको बताएका छन् ।
गाउँपालिकाको कार्यपालिकाले बढीमा २० किलो र एउटा वडा १२० जनाभन्दा बढीलाई बीउ वितरण गर्न नमिल्ने मापदण्ड बनाएकोमा वडा नं. ३ मा तीन सयभन्दा बढीको लाइन लागेपछि विवाद भएको थियो ।




