धनुषा । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा मासु बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा मासुको बिक्री वितरणमा रोक लगाएको हो ।
सप्ताह व्यापी विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए ।
यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको छ । निर्देशकको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।




