रौतहट । ईशनाथ नगरपालिका वड़ा नम्बर ९ लवतनामा रहेको एक प्राथमिक विद्यालयको अवस्था नाजुक रहेको पाइएको छ । नियुक्ति पाएकी एक शिक्षिकाको सट्टामा उनका श्रीमानले पढाउँदै आएको पाइएको छ ।
महेन्द्र राय यादव प्राथमिक विद्यालयमा कार्यरत रहेकी बाल विकास कोटाकी शिक्षिका कविता देवी यादवको सट्टामा उनका श्रीमानले शिशु र कक्षा १ मा अध्ययन गराउँदै आएको पाइएको छ ।
विद्यालयका प्राध्यानध्यापक प्रेम यादव काम विशेषले विद्यालय बाहिर थिए भने कक्षा कोठामा कविताका श्रीमान पढाइरहेका थिए । ईशनाथ नगरपालिकाको मेयर कौशल्या देवी सिन्हा लगायत जनप्रतिनिधीहरुको व्यवास्थाका कारण नपामा शिक्षाको अवस्था बिग्रेको स्थानीयहरुको गुनासो रहेको छ ।
डेक्स बेन्च नहुँदा बालबालिका चिसो भुईमा बस्न बाध्य छन् । छाना नभएको भवनको कक्षा कोठाको भूईमा बसेर बाल बालिका पढ्ने गरेका छन् । ६ महिना अघि हावाहुरीले उडाएको छाना मर्मत गराईदिन पटक पटक आग्रह गर्दा नगर प्रमुखले कुनै चासो नदेखाएको गुनासो शिक्षकहरुको रहेको छ ।
छाना नहुँदा बालबालिका चिसो भुइमा खुल्ला आकाश मुनि पढ्दै आएका छन् । नगरपालिकाले २०७९ साल फागुन महिना देखि नै दिवा खाजाको रकम नदिएकोले बालबालिकालाई खाजा खुवाउन समस्या भइरहेको कार्यालय सहयोगी राम प्रवेश यादवको भनाई छ ।
उधारोमा ल्याएर खाजा खुवाउँदै आएको दुखेसो पोख्दै पसलेले दिनहुँ पैसा मागेको गुनासो उनको छ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा शिक्षक शिक्षिका गरी ५ जना कार्यरत रहेका छन् ।
४ र ५ एउटा कोठामा र अरु सबै कक्षाका विधार्थी एउटै कोठामा पढ्ने गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने श्री महेन्द्र राय यादव प्राथमिक विधालयमा दैनिक ५०/६० जनासम्म बालबालिकाहरू पढ्न आउने गरेका छन् । सो विद्यालयको रेकर्डमा १ सय २५ जना विद्यार्थी रहेका छन् ।




