सिरहा । बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो । आरोपी भने फरार छन् ।
विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाइफकाइ र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीबारीमा पुर्याएर बिहिबार राति दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएका छन् । आफन्त र परिवारका सदस्यले विद्यालय गएका छोरी नफर्केपछि खोज तलास सुरु गरेका थिए ।
खोज तलास गर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरेको बालिकाका आफन्तले बताए । खोजीकै क्रममा शनिबार बिहान मात्र गोलबजार ४ को एउटा निर्माणाधीन घरमा आफन्तले फेला पारेका थिए । प्रहरीसामु घटना बारे बालिकाले बताउन नसक्दा शनिबार उजुरी दर्ता हुन सकेन । तर, बालिकाले आफन्तसामु घटना बारे सबै बताएकी थिइन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले सोमबार जाहेरी दर्ता भइसकेको बताए । उनले भने, ‘हिजो हामीसँग बालिका खुलिनन्, आज आफन्तलाई घटना बारे सुनाएपछि उहाँहरूकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भइसकेको छ ।’ प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।




