रौतहट । चन्द्रपुर नगरपालिका १० बालचनपुरबाट प्रहरीले नक्कली नोटसहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । बिहार राज्यको पूर्वी चम्पारण दार्पा थाना १ सुखलहिया टोलका ३८ वर्षीय सुरेन्द्र ठाकुरलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले ठाकुरलाई पक्राउ गरी जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
ठाकुर नक्कली नोटको पेशेवर कारोवारी रहेको प्रारम्भिक अनुसन्धानबाट खेलेको देखीएको र थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शर्माले बताएका छन् । मंसिर ३० गते ठाकुरलाई पक्राउ गरेपनि सोमबार अदालतबाट म्याद थप गरेर प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।
ठाकुरले बालचपुरमा रहेको एक ठेला पसलमा एक किलो सुन्तला खरिद गरेको र एक हजारको नोट दिएपछि नोट नक्कली भएको शंका लागेर ठेला पसलेले प्रहरीलाई सुचना दिएका थिए ।
इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक आनन्द रायको कमान्डको टोली बालचनपुर पुगेर ठाकुरको शरीर खान तलासी गर्दा पाइन्टको खल्तीबाट सक्कली जस्तो देखिने नक्कली नोट र एकथान च्यातिएको गरी २० हजार नेपाली नक्कली नोट बरामद गरेको थियो ।




