बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १ का एक बृद्धको रुखबाट खसेर मृत्यु भएको छ । निजगढ नगरपालिकामा सडक हेरालुका रूपमा कार्यरत पुर्णप्रसाद तिमल्सिनाको (धन्सार पारी) रौतहटको जंगलमा रुखबाट खसेर ज्यान गएको हो ।
६५ वर्षीय तिमल्सिना बिहिबार अपरान्ह ३ बजेतिर बाख्रालाई घाँस लिन भन्दै जंगल गएका थिए । उनी बिहिबार दिउँसो गाउँका एक जनाको अन्त्यष्टि कार्यमा सहभागी हुन घाटसम्म पुगेर फर्केका थिए ।
मलामीबाट २ बजे तिर घर फर्केका तिमल्सिना बाख्रालाई घाँस लिन भनी एक्लै जंगल गएकोमा राति अबेरसम्म घर नआएपछि खोजतलास गर्दा रुखबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।
तिमल्सिना २०७३ सालदेखी नगरपालिका मातहत ज्यालादारीमा सडक हेरालुका रुपमा काम गर्दै आएका थिए ।




