रौतहट । रौतहटको वृन्दावन नगरपालिका मेयर विनोदप्रसाद कुर्मी बैंकको कालो सूचीमा परेका छन् । कामना विकास बैंकको चन्द्रपुर शाखा कार्यालयबाट विभिन्न समयमा लिएको ऋण चुक्ता नगरेपछि कर्जा सूचना केन्द्रले उनको खाता कालो सूचीमा राखेको हो ।
कुर्मीले बैंकबाट विभिन्न समयमा तीन किसिमका कर्जा लिएका थिए । सन् २०१९ डिसेम्बर २५ मा उनले ३२ लाख ३५ हजार रूपैयाँ सवारी कर्जा लिएका थिए । सन् २०२० डिसेम्बर २ मा उनले ७० लाख रूपैयाँ व्यक्तिगत कर्जा लिएका थिए भने सन् २०२१ डिसेम्बर ५ मा ५४ हजार ८०५ रूपैयाँ सवारी बीमा कर्जा लिएका थिए ।
मेयर कुर्मीले लिएको १ करोड २ लाख ८९ हजार ८०५ रूपैयाँमध्ये उनले ८५ लाख ९ हजार ६ सय १० रुपैयाँ सावाँ र त्यसको ब्याज तिर्न बाँकी रहेको कामना विकास बैंकको चन्द्रपुर शाखाले जनाएको छ । विगत ४ सय ३५ दिनदेखि उनले बैंकको साँवा र ब्याज केही बुझाएका छैनन् ।
ऋण तिर्न छाडेको एक वर्षभन्दा बढी भइसकेपछि कामना विकास बैंकको सिफारिसमा राष्ट्र बैंकको कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको हो । कुर्मीले बैंकलाई बेवास्ता गरेपछि कर्जा तिर्न आउनु भन्दै २०७९ असार १ गते पत्रिकामा सूचना पनि प्रकाशन गरेको थियो ।
त्यसपछि समेत उनले ऋण तिर्न चासो नदेखाएपछि नेपाल राष्ट बैंकको बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० को निर्देशन नम्बर १२/२०८० को बुँदा नम्बर ९ को उपबुँदा १ (क) बमोजिम कर्जा सूचना केन्द्रले गत मंसिर १९ गते कालो सूचीमा राखेको हो ।
गत स्थानीय तह निर्वाचनमा मेयर जितेका कुर्मी नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता हुन् । माधव नेपाल निकट उनले अरू बैंकहरूबाट समेत ऋण लिएर नतिरेको बताइएको छ ।




