काठमाडौं । घरमा प्रयोग गर्न भरेर राखेको पानीमा डुबेर मोरङको जहदामा आज एक जना बालिकाको ज्यान गएको छ । जहदा गाउँपालिका ३ भातीगन्जका फुदन हस्दाकी एक वर्षकी छोरी कृतिको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार सिल्भरको भाँडामा पानी भरेर उनका अभिभावकले राखेका थिए । बिहान ९:१५ बजेतिर छोरी त्यही पानीमा डुबेको देखेपछि बच्चाकी आमा अजिताले विराटनगरको कोशी हस्पिटल लिएर गएकी थिइन् ।
हस्पिटल ल्याउँदा चिकित्सकले मृत घोषणा गरे । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमर्टम गर्न कोशी अस्पतालमा राखिएको छ ।




