रौतहट । रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रमा एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । कटहरिया नगरपालिका २ हंथियाही गाउँका संक्रमित ५० वर्षिय पुरुषको उपचारको क्रममा आइतबार साँझ ज्यान गएको हो ।
पछिल्लो चार पाँच दिनदेखि ज्वरो रुघाखोकी लागेका उनको गाउँघरमै उपचार चलिरहेको थियो । आइतबार साँझ स्वासप्रश्वासमा समस्या आएपछि थप उपचारको लागि उनलाई प्राथमिक स्वास्थ केन्द्र कटहरिया लगिएको थियो ।
उपचारमा संलग्न एक जना स्वास्थकर्मी अहेव बिनोद गुप्ताले अक्सिजनको मात्रा एकदम न्यून भएकाले श्वास फेर्न समेत गाह्रो भैरहेका उनलाई उपचार चल्दै गर्दा ज्यान गएको बताए ।
मृतक पुरुषको लक्षण कोरोनासँग मिल्दो रहेकाले आरटी पिसिआर जाँचको लागि उनीसँगै तीन जनाको स्वाब संकलन गरि जिल्ला अस्पताल गौर पठाईएको थियो । जाँचमा मृतक र उनको श्रीमती समेतको रिपोर्ट पोजेटिभ र छोरीको नेगेटिभ आएको थियो ।
मृतकको शव प्रहरीको सहयोगमा गएराति नै दाहसंस्कार गरिएको कटहरिया नगरपालिकाले जनाएको छ । कोरोनाको दोस्रो भेरिएन्टले रौतहटमा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार सांझसम्म जिल्लामा संक्रमितको संख्या ४२० पुगेको छ ।






