काठमाडौं । आज बिहानैदेखि तराईका स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । साथै तराईका केहि भूभागमा आज बिहानैदेखि शितलहर पनि भइरहेको छ ।
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
‘आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।’, महाशाखाको बुलेटिनमा उल्लेख छ ।




