वीरगंज । सखुवा प्रसौनी गाउँपालिका ५ महुबन चोकस्थित नहरबाट अवैध लागूऔषध गाँजा करिब ४२ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली गाउँपालिका ४ अकवा बस्ने ४० वर्षीय बिनोद राम र मकवानपुर भिमफेदी गाउँपालिका ९ स्यारसे बस्ने ३४ वर्षीय सुमन बलोन रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले बा प्र ०३९००१ च १५४० नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा चालकको सिटमुनि लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी चालक बलोनलाई पक्राउ गरेको हो ।
साथै सोधपुछ गर्ने क्रममा उक्त गाँजा रामले लिन आउने भने खुल्न आएपछि रामलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






