काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमका निम्ति सर्लाहीमा ब्यापारिक, बौद्धिक तथा युवा जगतको चासो, तत्परता र सक्रियता बढ्दो पाईएको छ । बिहिबार मात्रै जिल्लामा कोभिड-१९ भाइरस संक्रमण सम्बन्धमा बिभिन्न कृयाकलापहरु भएका छन ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भयावह बन्दै गएको छ । कोरोना भाईरसको दोस्रो लहर भयावह रुपमा फैलिन थालेपछि अस्पतालहरुमा वेड नपाउने, अक्सीजन नपाउने समस्याहरुलाई मध्य नजर गर्दै उद्योग वाणिज्य संघ लालबन्दीले अक्सीजन सिलिण्डर संकलनको काम सुरु गरेको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीको अगुवाईमा बिहिवार ११ वटा अक्सिजन सिलिन्डर संकलन गरिएको उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ । आवश्यकता अनुसार खाली अक्सिजन सिलिन्डर खोजी तथा संकलन तिब्र पारिने अध्यक्ष जोशीले बताउनुभयो ।
नगरका उद्योगी व्यापारीहरुसंग रहेका खाली अक्सीजन सिलिण्डरहरु संकलन गरि आवश्यकता अनुसार प्रयोग गर्नसक्ने अवस्थामा राखिने महासचिव दिपेन्द्र कुमार बलम्पाकीले बताउनुभयो । उहाँका अनुसार अक्सीजन सिलिण्डरहरु सर्लाही कृषी औजार,भुदेव खाद्य उद्योग, डालिमार्ट डिपार्टमेनट र रेगुलेटर उद्योेग बस्तिपुरबाट संकलन गरिएको हो ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्कासँगको छलफलमा उद्योग वाणिज्य संघलाई सहयोग गरिदिन आग्रह गरेपनि आफुहरुले अक्सिजन सिलिन्डर खोजी गर्न थालेका संघले जनाएको छ ।




