काठमाडौं । सडक डिभिजन कार्यालय मोरङका तत्कालीन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरी अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतले आइतबार उनीविरुद्धका दुईवटा मुद्दाको फैसला गर्दै घुस लिएको आरोपमा सफाइ दिएको छ भने अकुत सम्पत्ति आर्जनमा दोषी ठहर्याएको हो ।
चौधरीले झन्डै चार करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी थियो । चौधरीकी श्रीमती किरण चौधरी छोरा अभिषेक चौधरीलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको थियो । उनले विराटनगरको डिभिजन प्रमुख हुँदा एक ठेकेदार कम्पनीसँग कमिसनबापतको रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए ।
सेवाग्राही कम्पनीहरूबाट आयोजनाका लागि स्वीकृत रकमको निश्चित प्रतिशत रकम गैरकानुनी तवरले सिडिई चौधरीले लिएको खुलेको थियो । जून प्रकरणमा अख्तियारले ३५ लाख रुपैयाँ घुस लिएको भन्दै मुद्दा चलाएको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
सजाय निर्धारणका लागि १५ माघको पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को फागुन २ र ५ मा चौधरीविरुद्ध दुईवटा मुद्दा दायर गरेको थियो । जसमध्ये एउटामा उनी दोषी र अर्कामा सफाइ पाएका छन् । चौधरीलाई सजाय र बाँकी दुई जनालाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा दुई करोड ४४ लाख ९३ हजार रुपैयाँभन्दा बढी रकम चौधरीले गैरकानुनी तवरले आर्जन गरेको पुष्टि भएको हो ।




