वीरगंज । अत्यधिक चिसो तथा शितलहरका कारण पर्साका ग्रामीण भेगमा जनजीवन कष्टकर बन्दै गइरहेको छ । केहि दिनदेखि अत्यधिक चीसो हावा बढ्नुका साथै शितलहरका कारण वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गरि परिवार पाल्दै आएका अति गरीब, विपन्न परिवारको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
चिसो हावाका कारण विशेष कामले घर बाहिर जानेहरूलाई समस्या हुन थालेको छ । त्यस्तै, बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगीहरूलाई झनै समस्या भएको छ । दैनिक ज्यालादारी गरी परिवार पाल्दै आइरहेका अतिविपन्नहरू अत्यधिक चिसोका कारण काममा जान नपाउँदा परिवार पाल्न कठिनाइ भएको बताउँछन् ।
विपन्न परिवारलाई राहत दिन स्थानीय पालिकाले अहिलेसम्म तयारी गरेको देखिंदैन । अत्यधिक चीसो बढेपछि दम, खोकी, निमोनिया, श्वासप्रश्वासका रोगी, शिशु तथा बालबालिकाहरूको शरीरको तापक्रम कम हुन गई स्वास्थ्यमा असर पर्ने गरेको छ ।
दीर्घरोगी र बालबालिकाहरूलाई न्यानो कपडा लगाउन, घरभित्र बस्न, मनतातो पानी सेवन गर्न, पोषिलो, झोलिलो खानेकुरा खान चिकित्सक सुझाव दिन्छन् । अत्यधिक चिसोका कारण रक्तनली सुक्ने तथा साँघुरो हुने हुँदा आगो ताप्न र मदिराको सेवन नगर्न चिकित्सकले सुझाव दिएका छन् ।




