काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो ।
सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको छ । मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकनमा क्लिक गरेर वा सोझै लिङ्कमा गएर गुनासो दर्ता गर्न सकिने छ ।
प्राप्त गुनासोहरूको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाइने जनाइएको छ ।
सरकारले गत मंसिर ११ गते निर्देशिका जारी गर्दै नेपालमा सामाजिक सञ्जालको रुपमा सञ्चालनमा रहेका सबै प्लटेफर्महरुलाई तीन महिनाभित्र सूचिकरण गर्न सूचित गरेको थियो ।
सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भएपनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने छ ।




