सिरहा । सिरहाको गोलबजार नगरपालिका ६ स्थित प्रसूतिगृहको भौतिक संरचना जीर्ण भएको छ । छानाको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ । वरिपरि बनमाराको घारी छ । वर्षामा दबदबे हिलो र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराउन बाध्य छन्, स्वास्थ्यकर्मी ।
यहाँ कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्छन् । स्तरोन्नति गर्न गोलबजार नगरपालिकालाई पटक पटक अनुरोध गरिएपनि समाधान हुन नसकेको श्रेष्ठले बताइन् ।
वर्षौदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारले बताइन् । उनी यहाँ २०६३ सालदेखि कार्यरत छिन् । गोलबजार स्वास्थ्यचौकी प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पहल गरे पनि प्रगति हुन नसकेको गुनासो गरे ।
प्रसूति केन्द्र चौबिसै घण्टा खुला राख्नु पर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा ‘अल्ट्रासाउन्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन । कहिले काहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ ।
राजदेव साह सुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको स्थानीय राजदेश साहले बताए । अहिले स्थानीय गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ । ६० हजारभन्दा माथि जनसंख्या भएको गोलबजार नगरपालिकामा एमबीबीएस चिकित्सक छैनन् ।
हालै स्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । अनमी निरीक्षक शाक्यले भनिन्, “मैले तालिम त लिएर आएँ । तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्नेरु नगरपालिकालाई जानकारी गराएको छु । अहिलेसम्म कुनै वास्ता गरिएको छैन ।”
स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो । सडक विभागले खाली गरेर रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको हो । “३० वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन,” उनले भने, “बाख्राको गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ ।”
जग्गाको विवाद भएकाले प्रसूति गृह मर्मत सम्भार गर्न नसकिएको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बताए । उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यत्र स्थानान्तरण प्रक्रिया शुरू गरेको छ । २०५० सालमा स्थापना भएको यस प्रसूतिगृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ ।
महिनामा १५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गर्दै आएको छ । प्रसूतिगृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय रामजी यादवले प्रसूतिगृहको अवस्था देखेर चिन्ता लागेको बताए । उनले भने, “३० वर्षअघि हामीले जस्तो स्थापना गरेका थियौँ । आज पनि त्यस्तै अवस्थामा रहेछ । कुनै सुधार भएको रहेनछ । यो अवस्था देखेर मनमा असाध्यै पीडा हुन्छ ।” रासस




