वीरगंज । माघ ७ गते सवारी दुर्घटनामा परी मृत्यु भएका दुई जना विद्यार्थीको घटनाका विषयमा सत्यतथ्य छानबीन गर्न परिवारजनले माग गरेका छन् । नेशनल मेडिकल कलेज प्रशासनको लापरवाहीका कारण विद्यार्थीहरूको अकालमा मृत्यु भएको परिवारजनको आरोप छ ।
कमजोर सुरक्षा व्यवस्थाका कारण उनीहरू अबेर राति कलेजबाट अर्काको मोटरसाइकल लिएर निस्केको र मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको परिवारजनले बताएका छन् ।
बारा, सुवर्ण गापा ४ हर्दिया घर भई नेशनल मेडिकलको बिडिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय सन्दीप यादव र धनुषा, सबैला ५ घर भई एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र सुमित यादवको कलेजको लापारवाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
उनीहरू अबेर राति बाहिर निस्केको र सोही क्रममा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भन्दै कलेज प्रशासनले कडाइ गरेको भए राति होस्टेलबाट उनीहरू निस्कनै नपाउने र घटना नहुने तर्क गरेका छन् । परिवारजनले जिल्ला प्रहरी कार्यालय, पर्सामा किटानी जाहेरी दिएका छन् तर सो जाहेरी अहिलेसम्म दर्ता भने गरिएको छैन ।
मृतक सन्दीप यादवका काका प्रमोद यादवले घटना भएको भोलिपल्ट कलेज प्रशासनलाई विपक्षी बनाएर ज्यान सम्बन्धी जाहेरी दिएको तर प्रहरी अधिकारीहरूले दुघर्टनाको घटना भएकोले सोही बमोजिम जाहेरी नल्याएको भनेर अहिलेसम्म दर्ता गर्न नमानेको बताए ।
उनले प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्ने आश्वासनमा शव बुझेर अन्तिम संस्कार गरिएको तर अहिले घटनाको एक साता बितिसक्दा पनि प्रहरी र कलेज प्रशासनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक नगरेको बताए ।
उनले कलेज प्रशासनको कमजोरी भएकोले घटनाका दोषीलाई प्रहरीले कानूनी दायरामा ल्याउन नचाहेको आरोप पनि लगाए । नेशनल मेडिकल कलेजले दुई जना विद्यार्थी रातिको समयमा बाइक लिएर निस्किंदा सुरक्षागार्डले रोकेको तर जरुरी काम छ भनेर जबरजस्ती बाहिर निस्केको जनाएको छ ।




