ललितपुर । ललितपुर जिल्ला अदालतले सोमबार एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको छ । अदालतले अंश मुद्दाका लागि अदालत पुगेका धरानका अनिश श्रेष्ठलाई अदालतको गेटबाहिर पाइन्ट खोल्न लगाएको हो । उनले पाइन्टभित्र ट्राउजर र बाहिर थोरै ग्रन्च भएको जिन्स पाइन्ट लगाएका थिए ।
सुरक्षाकर्मीले अनिशलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । अधिवक्ता सत्यालले अदालतको यस्तो व्यवहार प्रति गुनासो पनि गरेका छन् ।
उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरेपनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको सत्यालले उल्लेख गरेका छन् । उनले सेवाग्राहीलाई अर्को पाइन्ट किन्न सकिन्छ अहिले भनेर सोध्दा अहिले त किन्न सकिँदैन भन्ने उत्तरपछि आफू किंकर्तव्य विमुढ बनेको बताएका छन् ।
उनले भनेका छन्- ‘मैले सेवाग्राहीलाई सोधेँ -अर्को पाइन्ट किन्न सकिन्छ अहिले ? अहिले त किन्न सकिँदैन सेवाग्राहीको उत्तर थियो । म किंकर्तव्य विमुढ थिएँ’ उनले भनेका छन् ‘भित्र ट्राउजर छ प्रहरी कर्मचारीको प्रश्न थियो । हजुर भित्र ट्राउजर छ पाइन्ट खोल्नुहोस् अनि ट्राउजर लगाएर भित्र जानुहोस् । हे भगवान् अन्तिममा त्यही भयो । भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन । के यो सही हो ?’




