रौतहट । समाचार संकलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट भएको छ । रौतहटको कटहरिया नगरपालिका ९ मा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिले उखुको तौल घटाएको विषयमा मंगलबार आन्दोलनरत किसानको रिपोर्टिङ गर्न पुगेका मध्यान्ह दैनिकका समाचारदाता कृष्ण तिवारीमाथि आक्रमण भएको हो ।
कुटपिटबाट प्रेस समाजवादी संगठनको केन्द्रीय सदस्य समेत रहेका पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ । तत्काल घटनास्थल पुगेका प्रहरीको सहयोगमा घाइते तिवारीको गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगंज पठाइएको छ ।
पत्रकार तिवारीमाथि भएको आक्रमणको पत्रकारका विभिन्न संगठनले दोषी उपर कारवाहीको माग राख्दै विज्ञप्ति समेत निकालेका छन् । यता मिल प्रशासनले भने आफूहरुले पत्रकारमाथि आक्रमण नगरेको दाबी गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




