सर्लाही । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस सर्लाहीमा पनि मनाइएको छ । दिवसको अवसरमा डिभिजन वन कार्यालय सर्लाही, सव डिभिजन वन कार्यालय लालबन्दी र जानकी नगरले सव डिभिजन वन कार्यालय लालबन्दीको कार्यालय प्रांङ्गणमा वृक्षारोपण गरिएको सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख उज्वल कुमार यादवले जानकारी दिनुभयो ।
डिभिजन वन अधिकृत माधव प्रसाद देवको अगुवाईमा आयोजना गरिएको कार्यक्रममा धुपी, सल्लो, मयुर पंखी लगायत फुलका बिरुवाहरु रोपिएको यादवले बताउनुभयो । कार्यक्रममा जानकीनगर सव डिभिजन कार्यालय प्रमुख सुभाष प्रसाद साह, दुवै सव डिभिजन वन कार्यालयका कर्मचारीहरु, डिभिजन वन कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
डिभिजन वन अधिकृत देवले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आम नागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘जैविक विविधताको संरक्षणमा सरकार, वन कार्यालय र वनका कर्मचारीहरुले मात्रै गरेर सम्भव नहुने हुँदा सबै सरोकारवाला निकाय र आम नागरिकको पनि सहयोग आवश्यक पर्नेछ ।’, अधिकृत देवले बताउनुभयो । ‘वन कार्यालयले नेतृत्व लिन्छ । स्थानीय समुदाय र निजी क्षेत्रले वन कार्यालय र सरकारलाई सघाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।
दिवसको यो वर्षको नारा ‘उइ आर पाट्स अफ दी सोलुसन फर नेचर’ रहेको छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ देखि यो दिवश मनाउन सुरु गरिएको हो ।




