काठमाडौं । श्रीमान् श्रीमती एकै पेसामा रहेका धेरै जोडी भेटिन्छन् । यस्तै निजामती सेवामा पनि यस्ता धेरै उदाहरणीय जोडी छन् । निजामती सेवामा भएका जोडीमध्य पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेकाहरु पनि छन् । तर यस्तो संयोग विरलै भेटिन्छ ।
यस्तै संयोग अहिले गुल्मीका एक दम्पतीलाई जुरेको छ । लोकसेवा आयोगले मंगलबार मात्र २१७ जना अधिकृतहरुको नतिजा सार्वजनिक गर्दा धुर्कोट गाउँपालिका ६ का सुरेन्द्र पाण्डे र श्रीमती रमिता विष्ट शाखा अधिकृत पदमा सिफारिस भएका हुन् ।
२०७४ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका सुरेन्द्र गत वर्ष नायब सुब्बामा बढुवा भएका थिए भने रमिता २०७६ मा खरिदारबाट निजामती सेवा प्रवेश गरी गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नासुमा सिफारिस भएकी थिइन् ।




