काठमाडौं । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले सन् २००६ मा पहिलो पटक राहदानीको विश्व वरीयता निकाल्दा नेपाल ७६ औं नम्बरमा थियो । उही संस्थाले सोमबार सार्वजनिक गरेको २०२४ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा भने १०३ औं स्थानमा झरेको छ । नेपाल २०२३ मा पनि उही स्थानमा थियो ।
वरीयता सूची निस्कन थालेयताको १८ वर्षमा नेपालको वरीयता सुध्रनुको साटो २७ स्थान तल झरेको हो । नेपाल २०१० मा ८८ औं स्थान, २०१४ मा ९० औं, २०१५ मा १०५ औं र २०२१ मा ११० औं स्थान हुँदै अहिले १०३ औं स्थानमा आइपुगेको हो । यो वरीयता सूचीमा नेपालसँगै द्वन्द्वग्रत मुलुकहरू लिबिया र प्यालेस्टाइन छन् ।
नेपालभन्दा उत्तर कोरिया १०२ औं स्थानमा रहँदै एक वरीयताले माथि छ । सैनिक कुबाट सञ्चालित म्यान्मार ९७ औं स्थानमा छ भने कंगो, दक्षिण सुडान र नाइजेरिया क्रमशः ९८ औं, ९९ औं र १०० औं वरीयतामा छन् ।
दक्षिण एसियामा नेपालभन्दा कमजोर राहदानी भएका मुलुकमा पाकिस्तान र अफगानिस्तान मात्र छन् । पाकिस्तान १०६ औं स्थान र अफगानिस्तान १०८ औं स्थानमा छन् ।
दक्षिण एसियाको सबैभन्दा बलियो राहदानी माल्दिभ्सको छ । विश्वकै सबैभन्दा शक्तिशाली राहदानीको सूचीमा यो देश ५८ औं नम्बरमा छ । त्यसपछि भारत ८५ औं, भुटान ९२ औं, श्रीलंका १०१ र बंगलादेश १०२ औं स्थानमा छन् ।
यस वर्ष शीर्ष १० शक्तिशाली राहदानीको सूचीमा पहिलो नम्बरमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन छन् । दोस्रो वरीयतामा फिनल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण कोरिया र स्विडेनका राहदानी छन् ।
अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, लक्जेम्बर्ग र बेलायतका राहदानी तेस्रो वरीयतामा छन् । चौथो वरीयतामा बेल्जियम, नर्बे र पोर्चुगल, पाँचौं वरीयतामा अस्ट्रेलिया, ग्रिस, माल्टा, न्युजिल्यान्ड र स्विट्जरल्यान्ड तथा छैटौं वरीयतामा क्यानडा, चेकगणतन्त्र, पोल्यान्ड र अमेरिकाको राहदानी छन् ।
सूचीको सातौं शक्तिशाली राहदानीमा हंगेरी र लुथिनिया, आठौंमा इस्टोनिया, नवौंमा लात्भिया र स्लोभेनिया र दसौंमा आइसल्याड छन् । हेन्लीले १९९ विभिन्न राहदानी र २२७ विभिन्न यात्रा गन्तव्यको आधारमा अध्ययन गरिएको जनाएको छ ।
मासिक रूपमा अद्यावधिक गरिएको द हेन्ली पासपोर्ट सूचांक आफैंमा बलियो र भरपर्दो वरीयताका रूपमा लिइँदै आएको छ । वरीयता गर्दा सम्भावित यात्रा गन्तव्यहरूविरुद्ध प्रत्येक राहदानीको क्रस–चेक गरिन्छ । यो अनुसन्धान प्रक्रिया वर्षभरि जारी हुने हेन्लीले जनाएको छ ।




