काठमाडौं । दिवंगत व्यक्तीको छोरा बनेर जग्गा हत्याउने प्रयास भएको एक घटना सार्वजनिक भएको छ । मध्यपुर थिमि नगरपालिकामा बाबुको नाम मिलेकै भरमा अंश दावी गरिएको बताइएको छ । ३६ वर्षपछि एकाएक दिवंगत व्यक्तीको छोरा हुँ भन्दै एक व्यक्तीले अंश दावी गरेको आफन्तले बताएका छन् ।
जग्गाधनी काजिराज श्रेष्ठ अविवाहित भएको अवस्थामा ३६ वर्ष पश्चात एक व्यक्तीले आफू उनको छोरा हुँ भन्दै अंश दावी गरेका हुन् । नक्कली नाता प्रमाणित गर्ने काममा मध्यपुर थिमि नगरपालिकाको उपप्रमुख कृष्ण श्रेष्ठ र ४ नं. वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ लागि परेको समेत आफन्तको आरोप छ ।

अंश दावी गर्ने राजु श्रेष्ठ
अदालतको आदेशलाई समेत लत्याउँदै मिलेमतोमा जग्गा हत्याउने प्रयन्त भएरहेको स्वगिंय काजिराजका आफन्त बताउँछन् । “३६ वर्षसम्म देखा नपरेका व्यक्ती मृत्यु पश्चात अविवाहित व्यक्तीको छोरा हुँ भन्दै आउनुले पनि यसमा भूमाफियाहरुको गिद्दे नजर रहेको प्रस्त बुझ्न्छि”, एक आफन्तले भने ।
नेपालको संविधानको दफा १०८, १०९ ले बुबा वा आमाको ठेगान नभएको शिशुलाई आफ्नो छोरा वा छोरी हो भनी दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले २ वर्षभित्र र बुवाको ठेगान नभई जन्मिएको शिशुको बुबा हो भनि दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको मितिले २ वर्षभित्र गरिसक्नु पर्ने कानुनी प्रावधान रहेको छ ।
यस्तै पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिने र सोही बमोजिम निजको पितृत्व निर्धारण हुने व्यवस्था समेत नेपालको कानुनमा प्रस्तसँग लेखिएको छ ।

यस्तै दफा २०८, २०९ र २१० मा बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउने उल्लेख गरिएको छ । दफा २०८, २०९ र २१० अनुसार- “बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउँछन् । प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउँदैनन् । सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउँछन् । अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउँछन् । कसैको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउने व्यवस्था छ । कुनै व्यक्तिले पत्नी, छोरा छोरीसँग अंशबण्डा गरी भिन्न भएपछि वा त्यसरी भिन्न भएकोसँग आफ्नो अंश मिलाई सँगै बसेको अवस्थामा अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा छोरी जन्मिएमा त्यस्ता पत्नी वा छोरा, छोरीले पति वा बाबुको अंश भागबाट मात्र अंश पाउने व्यवस्था गरिएको छ ।”

यस सम्बन्धमा मध्यपुर थिमि नगरपालिकाले उपप्रमुख कृष्ण श्रेष्ठ र ४ नं. वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठको बचाउमा प्रेस विज्ञप्ती जारी गरेको छ । नगरपालिकाले उपप्रमुख कृष्ण श्रेष्ठ र ४ नं. वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठको मान मर्दन गर्ने उदेश्यबाट प्रेरित भएर अनावश्यक, झुठो, अतिरन्जित, तथ्यहिन आरोप लगाएको जनाएको छ ।

नगरपालिकाले ४ नं. वडा कार्यालयबाट सिफारिस सम्बन्धि विषयको विवाद टुंगोमा पुग्न नसकेपछि न्यायिक समितिमा प्राप्त सो मिसिलका सम्बन्धमा न्यायिक समितिले मिति २०८० साल माघ ८ गते साधिकार निकायमा जान दुबै पक्षलाई सुनाई दिने आदेश दिएको जनाएको छ ।
यस्तै मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकार संचालन ऐन २०७४ को परिधिभित्र रहि कार्य गरेको, जनताको विश्वासमा आँच आउने गरि कुनैपनि कार्य नभएको जनाएको छ ।




