काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ७२ करोडको सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने नापीका ३७ कर्मचारीसहित ३५९ जनामाथि एकैदिन विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसमेत १७२ जना उपर हालसाविक जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्याएकोमा मुद्दा दायर गरिएको हो ।
यस्तै नापी कार्यालय चन्द्रगढी, झापाकै अर्का तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुक समेत १८७ जना उपर स्वबासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्याएकोमा मुद्दा दायर गरिएको छ ।
एकातिरको जग्गाको मुल्यांकन झण्डै ४२ करोड छ भने अर्कातर्फको मुल्यांकन ३० करोड भन्दा बढि छ । अख्तियारले व्यक्तिको नाममा गएका ति सबै जग्गा सरकारका नाममा ल्याउन माग दावी गरेको छ ।
अख्तियारका अनुसार सर्पट नापीको समयमा दमक नगरपालिका वडा नं. १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) विभिन्न कित्ताको ३८४ रोपनी ८ आना सरकारी जग्गा व्यक्ति विशेषका नाममा दर्ता गरिएको थियो । जग्गाको न्युनतम मूल्याङ्कन ४१ करोड बैसठ्ठी लाख हुन आउने भन्दै अख्तियारले १८७ जनाबाट सोही अनुसार बिगो र जरिवाना असुल उपर गर्न मागदाबी गरेको छ ।
नापी कार्यालय, चन्द्रगढी, झापाका ९ कर्मचारी, गैरकानूनी तरिकाले स्वबासी जग्गादर्ता प्रकृयाबाट आफ्नो नाममा दर्ता कायम गरेका ६५ जना र विगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका ११३ जना गरी जम्मा प्रतिवादीको संख्या १८७ रहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
यसरी मुद्दा दायर गरिएकामा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झा र निजकी श्रीमती अनार देवी झा, सोही कार्यालयका तत्कालिन नापी अधिकृत राम देव मण्डल, नायव सुब्बा रुद्र प्रसाद श्रेष्ठ, सर्वेक्षक सिताराम यादव लगायत ९ जना कर्मचारी छन् । उनीहरुलाई १ करोड ३० लाखदेखि ४१ करोड ६२ लाखसम्मको विगो कायम गरिएको छ ।




