काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरी अन्तर्गत कारवाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारवाही गरेको जनाएको हो ।
कारवाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो ।
‘मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठक समेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ ।
आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्न/नगराउन ध्यानाकर्षण गराउने र पुन: त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिता बमोजिम थप कारवाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।
त्यस्तै, ‘एकलाई भुलसुधार गर्न र एकलाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चार माध्यमको जवाफ चित्तबुझ्दो नदेखिएको प्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष समेत रहनुभएका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।
अध्यक्ष बस्नेतले अनलाइनको संख्यात्मक मात्र नभइ गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन् कडाइ गर्ने बताउनुभयो ।
‘सञ्चार माध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन । विश्वसनीयता पनि घट्छ । यसतर्फ गम्भीर भइ काउन्सिलले अनुगमन, सहजीकरण र कारवाही गर्दै आएको छ’, उहाँले भन्नुभयो ।
काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडिया विरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आ.व. समेतको गरी १६० वटा उजुरी फर्छ्यौट भएका छन् ।
काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।





