काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने प्रावधान प्रस्ताव गरेको छ ।
यस्तै सरकारले सूचना प्रविधि उपकरण तथा प्रणालीबाट डाटा चोरी तथा केरमेट गर्नेदेखि एआईको दुरुपयोग गर्नेलाई १० लाखसम्म जरिवाना र पाँच वर्षसम्मको कैद गर्ने गरी कानुन बनाइँदै छ । सञ्चार मन्त्रालयले तयार गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
त्यस्तै, आर्टिफिसियल इन्टेलेजेन्स (एआई) को दुरुपयोग गरेमा २ लाख रुपैयाँसम्म जरिवाना र २ वर्षसम्म कैदको प्रस्ताव गरिएको छ । साइबर बुलिङ गर्न नहुने, यौनजन्य दुव्यवहार गर्न नहुने, अश्लील सामग्री उत्पादन, संकलन, प्रकाशन, प्रदर्शन वा खरिद गर्न वा गराउन नहुने, प्रलोभनमा पार्न नहुने र गोप्य कोड चोरी गर्न नहुने प्रावधान राखिएको छ ।
यस्तै कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्याउन नहुने, कम्प्युटर प्रणालीमा रहेका डाटा हेरफेर गर्न वा मेटाउन नहुने, सार्वजनिक सूचना प्रणालीमा अवरोध गर्न नहुने, इन्टरनेट अफ थिंग्समा आक्रमण गर्न नहुने, विद्युतीय प्रणालीको दुरुपयोग गर्न नहुने लगायतको प्रावधान प्रस्तावमा गरिएको छ ।




