काठमाडौं । देशमा श्रम र रोजगारीको अभावको कारणले पछिल्लो केहि वर्षयता दिनहुँ जसो हजारौं नेपाली युवाहरू विदेश पलायन हुन बाध्य छन् । वैदेशिक रोजगारीमा हिंडेका युवाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बाईबाई नेपाल’ भन्दै खिचेका तस्वीरहरु हामीले देखिरहेका हुन्छौं ।
यस्तै दैनिक तीन जनाभन्दा बढी बाकसमा प्याक भएर आउने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नेपाली मिडियाहरुमा समाचार बन्ने गरेका छन् । त्यस्तै, परदेशी भुमिमा पुगेर दु:ख पाउने, ठगिने र घाइते तथा अपांग हुने नेपाली युवाहरूको संख्या पनि कम छैन ।
गाउँबाट शहर र शहरदेखि विदेशी भुमिसम्म पुग्दा नेपाली युवाहरुले पाउने दु:खको कुनै सिमा छैन । सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि बिचौलिया प्रथामा प्रतिबन्ध लगाएपनि मेनपावरहरुले बिचौलिया बिना जानेहरुलाई खासै वास्ता गरेको पाईंदैन ।
अधिकाशंलाई वैदेशिक रोजगार सम्बन्धी ज्ञान नहुँदा यसको फाईदा दलालहरुले मनग्ये लिने गरेका छन् । सयमा सय मेनपावरहरुले वैदेशिक रोजगारिमा जाँदा लाग्ने सरकारी खर्चको मापदण्डलाई कार्यान्वयन गरेका छैनन् । मेनपावरहरुले सरकारी मापदण्डको न्युनतम दस गुना बढी खर्च असुल्ने गरेका छन् ।
यसैबीच भिजिट भिसामा दक्षिण कोरियामा पठाउने भन्दै युवाहरुसँग रकम असुल्ने कार्यमा ट्राभल एजेन्सी लागेको पाइन्छ । विभिन्न भ्रमणको योजना भन्दै विज्ञापन गर्ने र युवाहरुलाई उतै बस्दा राम्रो हुन्छ भन्दै प्रलोभन दिने कार्य समेत गरेको पाइन्छ ।
भिजित भिसाका नाममा दिइन्छ प्रलोभन
भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो तर ट्राभल एजेन्सी यस्ता कार्यमा संलग्न भएको पाइन्छ । भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेस गरे वा झुट्टा विवरण तयार गरेको खण्डमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुन्छ तर यस कार्यमा ट्राभल एजेन्सीहरुले रकम असुल्दै आएका छन् ।
काम गर्ने मनसायले विदेश जान चाहेको खण्डमा भिजिट वा पर्यटक भिसा नभई श्रम स्वीकृति लिएर मात्र जान वैदेशिक रोजगार विभागले बताउँछ । तर, बिचौलियाहरूले भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने प्रलोभनमा पारी बढी रकम असुल गरी ठगी गर्ने गरेका छन् ।
प्रतिनिधि घटना
दक्षिण कोरिया पछिल्लो समय नेपाली युवाहरुका लागि आकर्षक केन्द्रका रुपमा बनेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको संख्या पनि बढ्दो छ । तर, आवेदन दिएका अधिकांशको हात खाली नै रहन्छ यस विषयमा जानकार ट्राभल एजेन्सीले फाइदा लुटिरहेका छन् ।
समय समयमा विभिन्न आकर्षक योजनाहरु सार्वजनिक गर्दै भिजित भिसामा दक्षिण कोरिया पठाउने भन्दै विज्ञापन गरिन्छ । यस्तै विज्ञापन देखेर ३ युवा काठमाडौं बौद्ध स्थित ट्राभल एजेन्सीमा पुग्छन् र आफूहरु भिजितमा कोरिया जान चाहेको बताउँछन् । अनुभवि ट्राभल संचालक युवाहरु देखेसँगै भिजितमा गएर उतै बस्ने हो भने भन्नुस् हामीले सबैकुरा मिलाउनुपर्छ भन्छन् ।
युवाहरुको मनसाय पनि उतै लुक्ने हुँदा दंग पर्छन् र भन्छन्- ‘भनेझै सहज हुन्छ र ? हामीसँग डकुमेन्टहरु पनि छैन ।’ यसो भनेपछि एजेन्टले यस विषयमा चिन्ता नलिनुस् हामीले एक व्यक्ती चिनेका छौं उनीहरुले डकुमेन्टहरु बनाइदिन्छन् । तपाईहरु युवा हुनुहुन्छ, माया लागेर मात्र भनेका हौं । तपाईहरु भिजितमा जानुस्, तीन महिना भित्र काम भेटेपछि त तपाईहरु सहजै कमाउन सक्नुहुन्छ भन्दै आश्वासन दिइन्छ ।
अब कुरा आउँछ खर्चको, ट्राभल संचालकले भन्छन् यदि तपाई घुमेर मात्र आउनु हुन्छ भने ६ लाख लाग्छ तर उतै बसेर कमाउन चाहनुहुन्छ भने १२ लाख बुझाउनु पर्छ । हामी तपाईहरुलाई उतै हाम्रो मान्छे कहाँ जिम्मा लगाउँछौं, उनीहरुले तपाईहरुलाई जागिर खोज्नमा समेत सहयोग गर्नुहुनेछ भन्दै प्रलोभन दिइन्छ ।
हामीले रकम बुझाएपछि जान पाउने ग्यारेन्टी चाहि के हुन्छ भनेर युवाहरुको प्रश्नमा एजेन्टले हामीले गर्ने भनेकै विश्वासको आधारमा हो । तपाईहरु ३ जनालाई मात्र होइन् तपाईहरुसँग २३ जना कोरियामा जाँदै हुनुहुन्छ । पासपोर्ट र अहिले २० प्रतिशत रकम बुझाउनुस् र कोरिया जाने तयारी गर्नुस् भन्दै ढुक्क बनाइन्छ ।
यस सम्बन्धमा सरकार एवम् सम्बन्धी निकायको ध्यान गएको देखिदैन । सरकारले यस्ता प्रकारका ट्राभल एजेन्सीहरुको निग्रानी गरेर कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ । अन्यथा समस्या झनै विकराल बन्ने र वैदेशिक रोजगारीमा जान चाहने युवाहरुले झनै दु:ख पाउने स्थिति थपिंदै जाने छ ।




