धनुषा । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइईमा मधेस प्रदेशबाट कूल ८१ हजार ७ सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।
परीक्षामा मधेस प्रदेशका ८ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम संख्या सप्तरीबाट रहेका छन् । धनुषाबाट ४ सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार २ सय १४, सिराहाबाट १० हजार ९ सय २३, महोत्तरीबाट ९ हजार ४ सय ३१, सर्लाहीबाट १० हजार ८ सय ९६, रौतहटबाट ९ हजार ४ सय ६९, बाराबाट ९ हजार ४ सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३ सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार ८ जिल्लामा २ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने २ सय ९५ केन्द्राध्यक्ष, ५ सय ३० सहायक केन्द्राध्यक्ष, ४ हजार ९२ निरीक्षक, ८ सय ७ परीक्षा सहायक, १ हजार ६ सय ३९ जना कार्यालय सहयोगी गरी जम्मा ७ हजार ६ सय ५८ जना कर्मचारी खटाइने छ ।
त्यसैगरी, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र लगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने समेत शिक्षा विकास निर्देशनालयले जनाएको छ ।




