काठमाडौं । बिहिबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्षदेखिको परीक्षामा ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरिएको छ ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनु पर्ने प्रावधान रहेकामा बोर्डले यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अंक र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाकं रहेको विषयमा ३५ र ७५ पूर्णाकं रहेको विषयमा २७ अंक ल्याउनु पर्ने जानकारी दिएको छ ।
कार्यालयले ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको स्पष्ट गरेको छ ।
३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।




