सर्लाही । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । बिहिबारदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो ।
कारबाही स्वरुप उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए । कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ ।
गोडैता नगरपालिकास्थित बेणीभोला माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जनाइएको छ ।
यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार ८ सय ९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ६ हजार ७ सय ८३ छात्रा र ४ हजार १ सय १३ छात्रले परीक्षा दिइरहेका छन् ।




