महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले १० बुँदे मागसहित ताला लगाएका छन् । नगरपालिकाका ७ जना वडाध्यक्षसहित पाँच कार्यपालिका सदस्यले पालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा, लेखा शाखा तथा प्राविधिक शाखामा ताला लगाएका हुन् ।
किसानहरुका लागि पालिकाले कुनै योजना नराखेको, जलेश्वर नगरपालिकाले गरेको कार्यहरुको सार्वजनिक सुनुवाई नगरेको, नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण उपलब्ध नगराएको र जलेश्वर नगरपालिकाको १२ वटै वडामा कर सम्बन्धी कार्यका लागि प्रयोग गरिने संग्रीला सफ्ट्वेयर कम्पनीको भुक्तानी नगर्दा वडाका कार्य अलपत्र परेकोले उनीहरुको गुनासो छ ।
त्यस्तै, यी मागहरु नगरपालिकामा राख्दा बेवास्ता गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । जलेश्वर नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगरसभा गरिएको ९ महिना बितेपनि योजना संचालन नगरेको, नगरपालिकाले नगरको नियमित बोर्ड बैठक नबसाएको, डोर हाजिरीमा कार्यरत कर्मचारीलाई ९ महिना खटाई तलब भत्ता भुक्तानी नगरेको, आ.व. ८०/८१ मा संचालन भएको योजनाहरुको भुक्तानी प्रतिलिपि माग गर्दा उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।




