काठमाडौं । मानिसहरु सरकारी जागिरको लागि निकै प्रयत्न गर्छन । तर, विद्युत प्राधिकरणमा नाम निकालेका ६ जना स्थायी नियुक्ति लिन नगएपछि प्राधिरणले १५ दिनभित्र नियुक्ति पत्र लिन आउनका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन विद्युत प्राधिकरणले आग्रह गरेको हो । प्राधिकरणले नाम निकालेर पनि जागिर खान नआएका ६ जनालाई जागिर खाइदिन अनुरोध गरेको हो ।
सिनियर मिटररिडर र सहायक लेखापाल पदमा सिफारिस भएका छ जनाले नियुक्ति पत्र नबुझेपछि प्राधिकरणले आज सूचना जारी गर्दै १५ दिनभित्र नियुक्ति पत्र लिन सूचना गरेको छ ।
नियुक्ति नलिनेमा विराटनगरका कृष्णकुमार साह, काठमाडौंका वसन्तकुमार साह, पोखराका सुशिलकुमार साह, बुटवलका झविन्द्र पौडेल, कमलेशकुमार महतो र काठमाडौंका पुष्पकमल उपाध्याय रहेका छन् ।
सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको स्थायी सेवामा नियुक्तिका लागि सिफारिस भएका तपसिलबमोजिमका उम्मेदवारहरुले नेपाल विद्युत प्राधिकरण, कर्मचारी सेवा, शर्त विनियमावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्ति पत्र लिन नआएको हुँदा सोही विनियमावलीको विनियम ३४ (२) बमोजिम यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नियुक्ति पत्र लिन आउन सूचित गरिन्छ ।’




