वीरगन्ज । नपत्याउँदो तरिकाले बुधबार तयारी अवस्थाको ६ सय थान लागुऔषध सहित एक भारतीय नेपाल छिर्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेपछि नयाँ तथ्य उजागर भएको छ ।
पक्राउ परेका भारतीय सीमा पारीबाट बारा हुँदै पर्साको वीरगन्ज महानगर तर्फ आउने क्रममा उक्त परिणामको लागुऔषध बोक्न प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकल सहित प्रहरी फन्दामा परेका हुन् ।
प्रहरी फन्दामा परेका व्यक्ति भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नम्बर २ बस्ने वर्ष २६ को राजकरण साह रहेको पर्साका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए ।
मोटरसाइकलको दुवै तर्फ तरकारी बोके जस्तो गरी प्रहरीलाई झुक्याउने शैलीले बीआर ०५ एटी ७३२६ नम्बरको मोटरसाइकल चढी उनी आउँदै थिए । सो समयमा प्रहरीलाई शंका लागी चेकजाँच गर्दा कुल ६ सय थान लागुऔषध फेला परेको हो ।
बरामद गरिएको लागुऔषधमा नुरफिन २०० थान, डाइजेपाम २०० थान र फेनारगन पनि २०० थान रहेको छ । तयारी अवस्थाको लागुऔषध बरामद भएपछि सो ल्याउँदै गरेको मोटरसाइकल र मानिसलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।




