काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरका अनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ ।
अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी, दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ । अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ ।
त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।
१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिन्छ ।
अहिले काठमाडौंको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ । मौसम विभागले काठमाडौंमा अझै केहि दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केहि दिन पुर्णरुपमा हट्ने सम्भावना नरहेको बताएका छन् ।





