महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ । नदी र वन क्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुँदा पनि सरोकारवालाहरुले वेवास्ता गरेको प्रति स्थानियहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् ।
‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्त्खनन भईरहेको छ । तर नगर, वडालाई खवर गर्दा उहाँहरुले कुनैपनि चासो देखाउनु भएको छैन ।’ स्थानीय हिरालाल महतोले भने । ‘नदी त सखाप नै बनाएर वातावरण प्रतिकुल असर पर्ने गरी तस्करहरु लागी परेका छन् ।’
स्थानीयका अनुसार भंगाहा नगर क्षेत्रमा मात्र १८ वटा क्रसर उधोग छन् त्यसमध्ये ९ वटा संचालनरत छन् । क्रसरहरुले राति राति अवैध उत्त्खनन गर्ने गरेको र केहि ट्याक्टर धनीहरुले समेत उत्खननमा सहभागी हुने गरेको स्थानियहरुको दावी छ । नगर क्षेत्रमा अवैध उत्खनन भईरहेको वडा नं. ४ का वडा अध्यक्ष गणेश महतो समेत स्वीकार गर्छन ।
‘कंयौ पटक हामी रोक्नको लागि खोलामा नै पुगेका छौ तर उनीहरु टेर्ने अवस्थामा छैनन ।’ अध्यक्ष महतोले भने । ‘कानुन हातमा लिएर जुन प्रकारको क्रसर र केही व्यापारीहरुले मनोमानी गरेका छन त्यो अत्यन्त दुखद छ ।’ बान्द्रा र प्रेमनगर विचमा पर्ने जंगल क्षेत्रमा निक्कै भयावह ढंगले दोहन भएको उनको भनाई छ । जंगल क्षेत्रमा दोहन भएपछी जिल्ला वन कार्यालयलाई समेत जानकारी गराएको बताउँदै अध्यक्ष महतोले सरोकारवालाहरुको मौनता माथी शंका उत्पन्न भइरहेको बताएका छन् ।
जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले भने दोहनको विषयमा आफूहरु जानकार रहेको र त्यसको विषयमा स्थलगत अनुगमन समेत गरिसकेको बताएका छन् । प्रमुख झाका अनुसार अनुगमनपछी पनि स्थानीय क्षेत्रबाट जनगुनासो आइरहेको र कतिपयलाई सचेत गराएर प्रारम्भिक प्रक्रियामा अगाडी बढी सकेको जनाएका छन् ।
‘अघिल्लो पटक अनुगमन गर्दा केहि व्यक्तिको निजि जग्गाबाट माटो उत्त्खनन गरेको देखिएको थियो । हामीले उनीहरुलाई आईई रिपोर्ट लगायत प्रक्रिया विना उत्त्खनन गर्न नमिल्ने भनेर सचेत गराइसकेका छौं ।’ प्रमुख झाले भने ।’नत्र कानुनि प्रक्रियामा अगाडी बढ्नु पर्ने देखिन्छ ।’ नगर क्षेत्रमा भईरहेको अनियन्त्रित दोहनलाई लिएर जिल्ला समन्वय समितिले समेत ध्यानाकर्षण जनाएको छ ।
कानुनको परिधिमा रहेर काम गर्नेहरुलाई सम्मान गर्ने तर कानुन हातमा लिएर तस्करी गर्ने जो कोही कानुनको भागीदार हुनुपर्ने बताउँदै समन्वय समितिका सभापति सुमनलाल कर्णले वन तथा नदी क्षेत्रमा भइरहेको दोहनको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रशासनको भुमिकामाथी शंका
स्थानियहरुले प्रशासनको भुमिका माथी भने प्रश्न उठाएका छन् । नजिकमा रहेका प्रहरीहरुलाई खबर गर्दा उल्टै टिपर तथा उत्खननस्थलबाट भगाउने गरेको स्थानियाहरुको दावी छ । स्थानीय प्रभु महतोले प्रहरीलाई हजारौ पटक खबर गर्दा पनि मौन रहेको बताए ।
‘म आफैले धेरै पटक प्रहरीलाई भनेको छु तर प्रहरीले उल्टै संरक्षण गरेका छन् ।’ महतोले भने । ‘घर नजिकै छ रातभरी खोला र वन क्षेत्र खन्नेका कारण ठुलो आवाजले सुत्न नै सकिदैन ।’ जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोखरेलले आरोप लगाएजस्तो नभएको बताए । ‘हिजो मात्र हामीले अवैध दोहनमा सक्रिय जेसिवी र टिपर पक्राउ गरेका छौ ।’ उनले भने । ‘यो विषय समन्वय समितिलाई जानकारी गराएका छौं ।’
प्रशासनको नै मिलोमतोमा दोहन भईरहेको विषयलाई अन्य स्थानियहरुले पनि आशंका गरेका छन् । त्यहींका स्थानीय राजीव साहले प्रहरीको मिलोमतोमा तस्करी भएको दावी गरेका छन् । न्युज कारखाना




