महोत्तरी । बल्वा नगरपालिकाको एक विद्यालयमा प्रधानध्यापक र शिक्षक विचको विवादले पठन पाठनमा असर परेको छ । वडा नं. ६ स्थित योग कुमार माध्यामिक विद्यालयका प्रधानध्यापक निरिपेन्द्र कर्ण र केहि शिक्षक बीचको आन्तरिक कलहले पठन पाठनमा गम्भीर असर परेको अभिभावकहरुले गुनासो गरेका छन् ।
सोही विद्यालयमा अध्यापन गराउने शिक्षक सोभालाल यादवका अनुसार प्रधानध्यापक कर्ण शृंखलावद्ध अनियमिततामा सहभागी भएपछि शिक्षकहरु बीच दुरी बढेको हो । उक्त विद्यालयमा अहिलेसम्म व्यवस्थापन समिति बन्न सकेको छैन । व्यवस्थापन समिति नभएको मौका छोपेर प्रधानध्यापकले आफू खुसी विद्यालयको सम्पत्ति नै हिनामिना गरेको शिक्षकहरुको आरोप छ ।
विद्यार्थीहरुसँग टाई र परिचयपत्रका नाममा आफू खुसी पैसा उठाएर अपचलन गरेको आरोप आईरहेको बेला विद्यालयको गोदाममा राखेको काठहरु समेत लिलाम गरेर प्रधानध्यापक कर्णले भ्रष्टाचार गरेको शिक्षकहरुले आरोप लगाएका छन् । काठहरु बेचेको न्युन पैसा मात्र खातामा देखाएको र लाखौ रुपैया अनियमितता गरेको अर्का शिक्षक जिवन श्रेष्ठले बताए ।
काठको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा शिक्षक सोभालाल आफैले उजुरी हालेका थिए । यहीबाट सुरु भएको विवाद अहिले विद्यार्थीहरुको पठन पाठनमा समेत देखिएको छ । तर, प्रधानध्यापक कर्णले भने शिक्षकहरुले आरोप लगाएर जस्तो नभएको जिकिर गरेका छन् ।
सोभालाल यादव नियमित कक्षामा नआउने र विद्यालयको समयावधि पहिले नै निस्कने कारणले कारवाही गरेको हुदा वदला लिने उदेश्यले अफवाह फैलाईरहेको उनको भनाई छ । तर शिक्षक यादवले एसईईको समयमा विद्यालयवाट विना कारण १८४ जना विद्यार्थीहरुसँग जनही ३ सयका दरले अवैधानिकरुपमा पैसा उठाएको समेत आरोप लगाएका छन् ।
विल विना पैसा उठाएर उक्त पैसा लेखा साखामा नबुझाएको कर्णमाथी आरोप लागेको छ । यो आरोप यसलाई स्थानीय अभिभावकले समेत ऐक्यबद्धता जनाएका छन् । अभिभावक कुशेस्वर महतोले शिक्षक सोभालालले भनेको बिषयहरुमा सत्यता नै भएको दावी गरेका छन् ।
‘हामीले कक्षा १० को विद्यार्थीहरुलाई ३ सय मागेपछि घरबाट पठाएका थियौ । त्यो कता खर्च भयो वा केको लागि लिएको थियो अझै खुल्न सकेको छैन ।’ अभिभावक महतोले भने । ‘यसको विषयमा छानविन हुनुपर्छ अहिलेसम्म लेखा शाखामा यो पैसा जम्मा भएको पाइएको छैन ।’
काठ लिलाम गरेको झन्डै ५५ हजार मात्र खातामा देखाएको र १८४ जना विद्यार्थीहरुसँग ३ सयका दरले उठाएको पैसा लेखा शाखामा दाखिला नभएको लेखापाल संजिव यादवले बताए ।
‘मैले पनि प्रधानध्यापक कर्णले पैसा उठाएको भन्ने थाहा पाएको हौ तर उक्त पैसाको बिषयमा लेखा शाखा अनविज्ञ छ ।’ लेखापाल यादवले भने । ‘खै अब सम्बन्धित निकायले यस्को छानविन गर्ला नी सरहरू समबन्धित निकायसम्म पुग्नु भएको छ क्यारे ।’ यता नगर शिक्षा शाखाका शाखा अधिकृत रामविनय यादवले भने विद्यालयमा प्रधानद्यापक कर्णभन्दा पनि शिक्षक दोषी भएको बताए ।
उनले विद्यालयको विषयमा पटक पटक छलफल भएको तर शिक्षकहरुले मनोमानी गर्न नपाउँदा प्रधानध्यापक माथी रिस पोखिरहेको बताउँदै शिक्षक सोभालाललाई सजायस्वरूप एक महिनाको १० हजार तलव समेत काटेको बताएका छन् ।
शिक्षक सोभालाल विद्यालयमा महिनामा धेरै दिन उपस्थित नै नभएपछि शिक्षा शाखा र प्रधानध्यापक बीच भएको छलफलमा नै चेतावनी स्वरूप कारवाही गरेको प्रमुख यादवको भनाई छ ।
तर शिक्षक यादवले भने यसलाई अस्विकार गरेका छन् । संचित विदाको अभिलेख नै गायब बनाएर झुटो आरोप लगाएको उनको भनाई छ । यादवले अभिलेख देखाएर यसको पुष्टि गर्न चुनौती समेत दिएका छन् ।




