सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स) खरिद विक्रि हुने गरेको पाइएको छ ।
कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाईएको हो ।
ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जतिपटक परीक्षा र ट्रायलमा सहभागी भएपनि पास नहुने तर घुस वापत रकम बुझाएपछि सजिलै लाइसेन्स हात लाग्ने सेवाग्राहीहरु बताउँछन् ।
सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईकलको लाइसेन्सका लगी ट्रायल दिए । तर, उनी एक पटक पनि पास हुन सकेन । तर, उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे ।
यहाँ जुन सुकै गाडीको लाईसेन्स लिन घुस रकम विचौलियामार्फत बुझाए सजिलै लाइसेन्स पाईने ती युवकले बताए । उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पास गरें । तर, तीन पटक ट्रायल दिँंदापनि पास हुन सकिएन् । घुस नदिई लाइसेन्स लिउँ भनेको मुस्किल रहेछ ।’
‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ । पासै हुन सकिएन । अव त्यसै एक वर्ष पछाडी परियो ।’ उनले थपे, ‘अर्काे पटक घुस दिएरै भएपनि पास गर्नुपर्ने अवस्था आयो ।’
सिरहा धनगढीमाईका रमेश यादव (परीवर्तीत नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन् । तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन । उनी लेखपड समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाईसेन्स लिए ।
उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन । पैसा नदिई लाइसेन्स पाइँदैन भन्ने सवै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय वाहिरै विचौलीयासँग अवैध रकम बुभाएर लाईसेन्स लिएँ ।’
ट्याक्टर, म्याजिक र विङ्गर चालकमात्र हैन यहाँबाट लाइसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमामात्र लाइसेन्स पाउने गरेको एक विचौलियाले बताए ।
ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाइसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ । त्यहि अनुसार सेटिङ्गमा काम हुने हो ।’ यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुसेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन । भएको भए मलाई जानकारी गराउनुस तुरुन्त कारवाही गर्छु ।’
उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिनेमात्र हो, बाँकी काम यातायात कार्यलयले गर्नेभएकोले हाम्रो खासै भुमिका पनि हुँदैन । सिरहामा विना विचौलीयाको लाइसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केहि सुनिएन भनी फोन काटे ।
यातायात र ट्राफिक प्रहरीले लाइसेन्स वापत अवैध रुपमा उठाईएको रकम जिल्ला, प्रदेश र विभाग सम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ ।
उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमा विचौलीया खडा गरेको हुन्छ, लाइसेन्सको लिखित सकिएर ट्राईल सकिने दिन नै अवैध असुली गरेको रकम वाडफाड गरिन्छ ।’
ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले विचौलीया खडा गरी खुलेयाम रुपमा ड्राइभिङ लाईसेन्स विक्रि वितरण गरिरहेको सेवाग्राहीहरु बताउँछन् । ड्राइभिङ लाइसेन्स लिन विचौलीयासँग सेटिङ नमिले लाइसेन्स नपाईने सेवाग्राहीहरुको भनाई छ । न्यूज कारखाना




