महोत्तरी । महोत्तरीको बर्दिबासमा रहेको खानेपानी संस्थानमा चरम अनियमितता भएको भन्दै समितिका पदाधिकारीहरुले नै प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा अध्यक्ष भुलन सेनबाट अनियमितता भएको आरोपसहित उपभोक्ताहरुबाट निर्वाचित सचिव र कोषाध्यक्षले मंगलबार इलाका प्रशासन कार्यालय बर्दिबासमा उजुरी दिएका हुन् ।
स्वार्थसिद्धको लागि विधान विपरित काम गरेर उपभोक्ताहरुको अपेक्षामा ठेस पुर्याएको जिकिर गर्दै कोषाध्यक्ष भोज प्रसाद फुयाल र सचिव उदय भण्डारीले छुट्टा छुट्टै उजुरी दर्ता गराएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।
कोषाध्यक्ष फुयालको हस्ताक्षर हटाएर ३ महिनादेखि उपभोक्ताहरुको पैसाको दुरुपयोग र अनियमितता भएको र कार्यालय संचालनार्थ काम गर्नुपर्ने सचिव भण्डारीलाई समेत हटाएर जनमतको उपेक्षा गरेको उनीहरुले बताएका छन् ।
आन्तरिकरुपमा आम उपभोक्तालाई थाहा नै नदिएर भित्री बदमासीहरुलाई सच्याउन विशेष साधारणसभा समेत गरिएको कोषाध्यक्ष फुयालले दावी गरे । यो विषयलाई पुष्टि गर्ने गरी सामाजिक संजालमा साधारणसभा गरिएको माइन्युट र निर्णयहरु समेत सार्वजनिक भएका छन् ।
अहिले नगर क्षेत्रमा यहि विषय नै पेचिलो बन्दै गएको छ । एकै परिवारको ७ जनासम्म उपस्थित गराएर विशेष साधारण सभाबाट अध्यक्ष अनुकुल हुने गरी विधान संसोधन समेत गरिएको पदाधिकारीहरुको आरोप छ ।
सभाको नाममा हस्ताक्षर किर्ते गरी संस्थानलाई कमाई खाने ठाँउ बनाएको र खानेपानी जस्तो संवेदशील विषयमा अध्यक्ष सेनले कुठाराघात गरिरहेको कोषाध्यक्ष फुयालले बताए ।
३ महिनादेखि आफ्नो हस्ताक्षरविना खानेपानीमा जम्मा भएको जनताको पैसामा रमाईलो गरेको प्रमाण समेत सुरक्षित रहेको बताउदै यो अवधिमा भएको सम्पूर्ण कारोवार पनि अवैध भएको उनको भनाइ छ ।
सचिव उदय भण्डारीले पनि संस्थानको मनोमानि प्रती आपत्ति जनाएका छन् । अध्यक्ष सेनले बहुमतको बलमा आफूलाई थाहा नदिई बैठक राख्ने र अनुचित निर्णय गर्ने गरेको सचिव भण्डारीले बताए ।
बहुसंख्यक मानिसहरुको आशाको धरोहर रहेको खानेपानी संस्थानमा निर्वाचित पदाधिकारीहरुबाट नै बेथितिहरु सार्वजनिक भएपछि नगर क्षेत्रका उपभोक्ताहरुले चासो र चिन्ताको ब्यक्त गरेका छन् । नगर क्षेत्रका कंयौ स्थानीयहरुले सामाजिक संजालबाट नै खवरदारी गर्न सुरु गरेका छन् ।
स्थानीय रिमनाथ अधिकारी फेसबुकमा लेख्छन् – ‘हिजोको दिनमा गलत तबरले चलेको छ भन्ने सुन्नमा मात्र आएको थियो तर आज प्रमाणित भएको छ । जनता जनार्दन हुन, जनताको मतको दुरुपयोग गर्ने जो कोही सजायको भागिदार हुन्छन् । सार्वजनिक सम्पती माथी जथाभावी गर्नेहरुले तुरुन्तै राजीनामा दिनुपर्छ ।’
कोषाध्यक्ष र सचिवको अध्यक्षसँगको दुरी प्रतिस्पर्धा विना आफ्नै नाता पर्ने महिला कर्मचारी राखेको भन्दै बढेको थियो । ‘कर्मचारी राख्न प्रतिस्पर्धा गराउनु पर्ने ठाँउमा गुपचुप नातेदार भर्ना गरेको विषयमा विवाद भयो त्यहि कारण हामीलाई हटाएका हुन ।’ सचिव भण्डारीले भने ।
अध्यक्ष भुलन सेन भन्छन् : मैले गलत गरेको छैन
अध्यक्ष भुलन सेनले भने खानेपानी संस्थान माथी लागेका आरोपहरु निराधार भएको बताएका छन् । जनताको भावना र आवश्यकता अनुरुप काम गरेको बताउदै त्यसभन्दा बाहिर कुनै गलत नगरेको अध्यक्ष सेनको भनाई छ ।
अफवाह फैलाउने गरी केहि व्यक्तिहरु लागेको बताउदै त्यसको पछाडी नलाग्न अध्यक्ष सेनले आग्रह गरे । ‘म कतै गलत छैन कार्यालयमा नै आएर बुझ्दा हुन्छ ।’ उनले भने । ‘अब अरुले के गर्छन् त्यो मलाई मतलव छैन तर जिम्मेवारीमा प्रतिवद्ध छु ।’
दिर्घकालिन खानेपानी योजना अगाडी बढाएर बढिरहेको र आम उपभोक्ताहरुलाई प्रतिवद्धता जनाए अनुसार नै काम गरिरहेको अध्यक्ष सेनको भनाई रहेको छ ।




