बारा । बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठन पाठन अवरुद्ध भएको छ ।
स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकहरुलाई हाजिर नगराउन भन्दै केहि अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा गत मंगलबार तालाबन्दी गरेका थिए ।
प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दीको खोल्ने बारेमा पहल नभएपछि विद्यालयका शिक्षक कर्मचारीहरुले बिहिबारबाट पठन पाठन ठप्प पार्ने निर्णय गरेका हुन् ।
बिहिबार बसेको शिक्षक कर्मचारीहरुको संयुक्त बैठकले केहि मान्छेहरुले विद्यालयका प्रधानाध्यापक साहको कार्यकक्षमा तालाबन्दी गरेपछि पठन पाठनको लागि सहज वातावरण नभएको भन्दै तालाबन्दी नखोलिएसम्म पठन पाठन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षक सेवा आयोगको परीक्षा उत्र्तिण गरेका २ जना शिक्षकहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइको सिफारिमा निजगढ नगरपालिका शिक्षा शाखाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेपछि रुष्ट बनेका केहि अभिभावकहरुले प्रधानाध्यापक साहको कार्यकक्षमा तालबान्दी गरेका थिए ।
उनीहरुले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनु पर्ने माग गरेका छन् ।
विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थापना गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ ।
अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन ।
‘सहमति माग गर्न आउनुभएको थियो, प्रधानाध्यापक साहले भन्नुभयो, तर विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले सहमति पत्र दिन सकिएन ।’ उहाँले समितिको निर्णय बेगर प्रधानाध्यापकले एक्लै सरुवा सहमति दिन नसक्ने पनि बताए ।
विद्यालयमा अभिभावकबाट चुनिने ४ जना सदस्यको चयन भइसकेको भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको प्रधानाध्यापक साहले जानकारी दिए ।
नगर शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर नगरपालिकामा शिक्षा समन्वय इकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थपाना गर्ने निर्णय गरेको थियो ।
शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको हो । निजगढ नगरपालिका १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए ।
उनले शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए । विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।




