रौतहट । गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढिरहेका बेला रौतहटको वृन्दावन नगरपालिका अन्तरगतका कुनै पनि स्वास्थ्य संस्थामा पर्याप्त औषधि नरहेको चिकित्सकहरु स्वयम् बताउन थालेका छन् ।
सो पालिकाभित्र ९ वटा स्वास्थ्य चौकीहरु रहेका छन् । सबै स्वास्थ्य चौकीमा राज्यले तोकेका नि:शुल्क औषधिको अभाव भएको हो । स्वास्थ्य संस्थामा सरकारले निःशुल्क दिने भनेका औषधि समेत पाउन छाडेपछि सर्वसाधारण मेडिकलबाट महँगो शुल्कमा औषधि किनेर खान बाध्य भएका छन् ।
वृन्दावन नगरपालिकाले नगरभरिका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले नि:शुल्क उपलब्ध गराएका औषधिहरु समेत उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरू सिटामोल र आइरण चक्की वितरण गरेर बस्न बाध्य भएका छन् ।
वृन्दावन नगरपालिका ३ मा रहेको विश्रामपुर स्वास्थ्य चौकीका डाक्टर राजेन्द्रप्रसाद यादवले नगरपालिकाको स्वास्थ्य शाखाले सर्वसाधारणले पाउने निःशुल्क औषधि समेत नपठाएकाले समस्या भएको बताए ।
विश्रामपुर स्वास्थ्य चौकीमा औषधिको नाममा सिटामोल, आइरण चक्की र क्षयरोगको औषधि मात्र रहेको यादवको भनाइ छ । नगरपालिकाको स्वास्थ्य शाखाले औषधि आज आउँछ भोलि आउँछ भनेको ३ महिना बित्दासमेत औषधि नआएको यादवले गुनासो गरेका छन् ।
सो पालिका अन्तरगत सबै स्वास्थ्य चौकीमा औषधि नपाएका कारण आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण निजी मेडिकलबाट महँगो शुल्क तिरेर औषधि खरिद गर्न बाध्य भएका छन् ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधि निःशुल्क पाउने बताएको भएपनि रौतहटका स्वास्थ्य संस्थामा सामान्य ज्वरो र रुघाखोकीको औषधि समेत सर्वसाधारणले पाउन छाडेका छन् ।
वृन्दावन नगरपालिकाको वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीमा समेत सिटामोल, आइरन चक्की र क्षयरोगको औषधिबाहेक औषधि नभएको सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताए ।
औषधि अभावका विषयमा वृन्दावन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रासनारायण पटेलसँग बुझ्दा औषधि खरिदको प्रक्रियामा रहेको र अबको तीन चार दिनभित्रमा नगरका सबै स्वास्थ्य शाखामा औषधि पुग्ने बताए ।
वृन्दावन नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क औषधि पाउने आशामा उपचार गराउन जाने गरिब तथा विपन्नहरुलाई सकारी स्वास्थ्यकर्मीले आफूहरुकोमा औषधि नभएको भन्दै निजी अस्पताल र मेडिकलमा पठाउने गरेको स्थानीय बासिन्दा दयाराम पटेलले बताए ।
सो पालिकामा लामो समयदेखि औषधिको अभाव हुँदै आएपनि पालिकाले औषधि खरिद गर्ने तर्फ ध्यान नदिएको वृन्दावन २ का स्थानिय विगु राउतको भनाइ रहेको छ ।




