बारा । एनआइसी एशिया लघुवित्तको कार्यालय, परवानीपुरमा मंगलबार तोडफोड तथा आगजनी भएको छ । दुर्गा प्रसाईं समूहले वैशाख २६ गतेदेखि जारी गरेको आन्दोलनको क्रममा मंगलबार दिउँसो १:३० बजे परवानीपुर गाउँपालिका ३ स्थित एनआइसी एशिया लघुवित्त कार्यालयमा तोडफोड र आगजनी गरिएको बताइएको छ ।
१५/२० जनाको समूहमा रहेका व्यक्तिहरू दिउँसो १:३० बजे लघुवित्तमा प्रवेश गरेका र त्यहाँ रहेका फर्निचर, कम्प्युटर तोडफोड गर्नुका साथै तमसुक, भौचरहरू जलाएर नष्ट गरेका हुन् । उक्त समूह कार्यालयमा प्रवेश गरेर १५ मिनेटभित्र वितण्डा मचाएर फर्केको थियो ।
बैकले खराब कर्जाको कारण कालोसूचीमा परेका ऋणीहरूको समूहबाट घटना भएको आरोप लगाएको छ । प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सकेको छैन । जिप्रका, बाराले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।




